ओपन सोसाइटी इन्स्टिच्युट - ओएसआई
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा मुख्यालय रहेको ओपन सोसाइटी इन्स्टिच्युट -ओएसआई निजी स्तरबाट सञ्चालित अनुदान प्रदान गर्ने संस्था हो । ओएसआईको मुख्य उद्देश्य लोकतान्त्रिक शासनपद्धति र मानव अधिकारको प्रर्वर्द्वन गर्ने तथा आर्थिक, कानुनी र सामाजिक सुधारका लागि अनुकूल हुने सार्वनिक नीति तय गर्न सहयोग पुर्याउनु हो ।
ओएसआईले संसारका विभिन्न स्थानमा कानुनी शासन, शिक्षा, जनस्वास्थ र स्वतन्त्र सञ्चारका क्षेत्रमा सहयोग पुर्याउने खालका थुप्रै क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । यसै गरी यस संस्थाले विश्वका फरकफरक स्थानमा रहेर खुला र स्वतन्त्र समाजको प्रर्वर्द्वन गर्नेहरूबीचमा सहकार्य बढाउन पनि काम गरिरहेको छ ।
जनसेवी/परोपकारी अमेरिकी नागरिक जर्ज सोरोसले आफ्नो निजी प्रतिष्ठान सोरोस फाउन्डेसनलाई सहयोग पुर्याउनका लागि सन् १९९३ मा ओएसआईको स्थापना गरेका हुन् ।
ओएसआई कुनै पनि मुलुकमा आफ्ना नागरिकहरूप्रति जवाफदेही रहन गतिशील सरकार तथा उदार लोकतान्त्रिक पद्धति हुनुपर्दछ भन्ने मान्यता राख्दछ र त्यस्तो पद्धति निर्माण गर्ने प्रक्रियालाई सहयोग पुर्याउने काम गर्दछ । यसबाहेक ओएसआईले अल्पसङ्ख्यक तथा सीमान्तीकृत नागरिक र समुदायहरूको जीवनस्तर उकास्ने र उनीहरूको अधिकारको ग्यारेन्टी गर्ने कार्यहरूलाई प्राथमिकता दिने गरेको छ ।
ओएसआई खुला/स्वतन्त्र समाजको प्रर्वर्द्वनबाट नै लोकतान्त्रिक मूल्य र संस्थाहरूको विकास हुन सक्दछ भन्ने मान्यता राख्दछ । ओएसआईका अनुसार खुला/स्वतन्त्र समाज भन्नाले कानुनी शासन, मानव अधिकार, अल्पसङ्ख्यक र समाजमा रहेका भिन्नभिन्न विचारहरूको सम्मान, जनताद्वारा निर्वाचित सरकार, उदार अर्थव्यवस्था, सरकारको भूमिका र उसले प्रयोग गर्ने शक्तिलाई सन्तुलन गर्न सक्ने सचेत नागरिक समाजलाई जनाउँदछ ।
ओएसआईको गतिविधि सञ्चालन तथा कार्यान्वयन
ओएसआईले कुनै महत्वपूर् मुद्दा र सवालहरूलाई सम्बोधन गर्नका लागि तयार हुने कार्यक्रमहरूलाई क्षेत्रीय स्तरमा रहेका आफ्ना परियोजनाका माध्यमबाट वा विश्वका विभिन्न मुलुकहरूमा रहेका आफ्ना सन्जालहरूमार्फ सञ्चालन गर्दै आएको छ । धेरैजसो क्रियाकलापहरू ओएसआई-न्युयोर्क, अमेरिका अथवा ओएसआई-बुदापेस्थ, हङ्गेरीबाट सञ्चालित भइरहेका छन् । त्यसै गरी कतिपय मुलुक र क्षेत्रहरूमा सोरोस फाउन्डेसनसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
ओएसआईले खुला/स्वतन्त्र समाजको विकासका लागि विश्वका विभिन्न मुलुकमा सबल नागरिक समाजको विकास, आर्थिक सुधार, कानुनी सुधार, शिक्षा, जनस्वास्थ्य, कला र संस्कृतिको विकास, मानव अधिकार, नागरिक प्रशासन सुदृढीकरण, स्वतन्त्र सञ्चारको विकासलाई सहयोग पुर्याउने गरी आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ । ओएसआई मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रलाई प्रर्वर्द्वन गर्नका लागि नेपालमा सहयोग गर्न इच्छुक रहेको छ । नेपालमा उक्त क्षेत्रहरूमा कार्यरत केही संस्था तथा व्यक्तिहरूको अगुआईमा सुरु भएको 'सामाजिक संवादका लागि सहकार्य - एएसडी' सँगको सम्पर्कबाट ओएसआई नेपालमा अनुदान सहयोग गर्न लागिरहेको छ ।