सामाजिक संवादका लागि सहकार्य एएसडी
नेपालका बेग्लाबेग्लै स्थानहरूमा भिन्नभिन्न क्षेत्रहरूमा कार्यरत संस्था र व्यक्तिहरूबीच संवाद प्रक्रियाबाट सहकार्यको संस्कृति विस्तार गर्ने उद्धेश्य अनुरूप एउटा अभियानका रूपमा 'सामाजिक संवादका लागि सहकार्य' - एएसडी सुरु भएको हो । एएसडीले आफ्नो उद्धेश्य बमोजिम लोकतान्त्रिक / प्रजातान्त्रिक मूल्य र मान्यताहरूको प्रवर्द्धन गर्न नेपालभित्रका विभिन्न विषयहरूलाई समेटी सरोकारवालाहरूबीच अन्तरक्रिया/बहस विस्तार गर्न लागि परेको छ ।
'एएसडी' खुला/स्वतन्त्र क्षेत्रहरू जस्तै- मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षामा काम गरिरहेका नेपाली सरोकारवालाहरूसँग सहकार्य गर्दै बौद्धिक संवादका लागि प्रयत्नरत रहनेछ। यसबाहेक एएसडीले उक्त क्षेत्रहरूमा सक्रिय रहेर लोकतन्त्र तथा खुला/स्वतन्त्र समाजको प्रवर्द्धनमा लागिपरेका संस्था तथा व्यक्तिहरूका बीचबाट नयाँ र सिर्जनशील विषयहरू पहिचान गर्दै आगामी दिनमा काम गर्न सकिने विषयहरूको प्राथमिकीकरण गर्नेछ । त्यसै गरी उक्त विषयहरूमा काम गर्न आवश्यक अनुदान रकम प्राप्त गर्न अन्तर्रराष्ट्रिय स्तरमा रहेका सहयोगी संस्थाहरू - जस्तै, ओएसआईसँग सहकार्य गर्दै स्थानीय र अन्तर्रराष्ट्रिय संस्थाहरूबीचमा सन्जाल निर्माण गर्न प्रयत्नशील रहनेछ ।
यही अभियान अर्न्तर्गत एएसडीले नेपालभित्र मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रको प्रवर्द्धनमा सक्रिय संस्था तथा व्यक्तिहरूबीचमा संवाद बढाउन परामर्श, छलफल, कार्यशाला गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्नेछ । सरोकारवालाहरूको छलफलबाट प्राथमिकीकरण गरिएका विषयहरूमा आगामी दिनमा कार्यक्रम सञ्चालन गर्नका लागि सङ्घसंस्थाहरूलाई प्रेरित गरिनेछ । यसका लागि सरोकारवालाहरूलाई कार्यक्रम सञ्चालनका लागि परियोजना प्रस्ताव तयार पारी अनुदान रकमका लागि आवेदन पेस गर्न एएसडीले प्रोत्साहित गर्नेछ । एएसडीलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्न ओएसआईबाट आर्थिक सहयोग मिलेको छ ।
सामाजिक संवादका लागि सहकार्य -एएसडी को संरचना र कार्य प्रक्रिया एएसडीको उद्धेश्य बमोजिम नेपालका विभिन्न स्थानमा मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रमा सक्रिय संस्था र व्यक्तिहरूलाई संवाद र सहकार्यमार्फ यस अभियानमा - एएसडी मा संलग्न गराउँदै लगिनेछ । उक्त तीन फरकफरक क्षेत्रका सरोकारवालाहरूको संलग्नता रहने परिषद्को रूपमा एएसडी रहनेछ ।
हालको अनौपचारिक स्वरूपमा एएसडीको पाँच सदस्यीय कार्यकारिणी समिति रहनेछ । कार्यकारिणी समितिमा पाँच जनाभन्दा बढी सदस्य हुनेछैनन् र कुनै पनि संस्थाको एकभन्दा बढी प्रतिनिधि रहनेछैनन् । कार्यकारिणी समितिको सदस्यता चक्र प्रणालीअनुसार छनौट गरिनेछ । एएसडीसित संलग्न रहेका संस्था तथा व्यक्तिहरू पालैपालो कार्यकारिणी समितिमा छानिने नियम तर्जुमा गरिनेछ । कार्यकारिणी समितिले 'एएसडी' को नियमअनुसार कार्यक्रमहरूको पहिचान गर्दै कार्यान्वयन गर्नेछ । नेपालभित्रका समाजिक तथा जातीय विविधतालाई मध्यनजर गर्दै 'एएसडी' ले यसको परिषद् र कार्यकारिणी समति दुवैमा सकेसम्म धेरै समूहबाट प्रतिनिधित्व गराउनेछ ।
'एएसडी' ले कार्यकारिणी समितिको निर्णयानुसार आफ्नो सचिवालयमार्फत कार्यक्रमहरू सञ्चालन गर्नेछ । हाल एएसडीको सचिवालय सोशल साइन्स वहाः पाटनढोकामा रहेको छ । सचिवालयले नियमित प्रशासकीय कार्यहरू गर्दै नेपालका विभिन्न स्थानहरूमा संवादका लागि भेलाहरूको आयोजना गर्नेछ । यसबाहेक ओएसआईबाट नेपालमा परियोजना सञ्चालन गर्न प्रदान गरिने अनुदानका लागि परियोजना प्रस्ताव आहृवान गर्ने र सचिवालयमा प्राप्त भएका परियोजना प्रस्तावहरूलाई ओएसआईमा पठाउने काम गर्दछ ।