· परियोजना प्रस्ताव पेस गर्दा अपनाउने प्रक्रिया के हो ? कसरी परियोजना प्रस्ताव पेस गर्न सकिनेछ ?
नेपालमा ओपन सोसाइटी इन्स्टिच्युट (ओएसआई) को सहयोगमा काम गर्न इच्छुक संस्था/व्यक्तिले आफ्नो परियोजना प्रस्ताव 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) मा पेस गर्नुपर्नेछ । परियोजना प्रस्ताव १० पृष्ठमा समेटिएको हुनुपर्नेछ । कुनै संस्था/व्यक्तिले आफ्नो समाजमा शिक्षा, मानवअधिकार र सञ्चारका क्षेत्रमा देखिएका समस्या तथा सवालहरूमा काम गर्नका लागि सिर्जनशील योजनाहरू सोचिरहेको भए उक्त योजनाहरूलाई परियोजना प्रस्तावको रूपमा तयार गरी ओएसआईबाट प्रदान गरिने अनुदानका लागि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् ।
परियोजना प्रस्तावको आवेदन, एएसडी सचिवालयको पत्राचार ठेगाना, एएसडी सचिवालय
सोशल साइन्स वहाः
पोस्ट बक्स नं. २५३३४, काठमाडौं, नेपाल वा इमेल asd@soscbaha.org मार्फत एएसडीमा पठाउन सकिनेछ ।
· परियोजना प्रस्ताव क-कसले पेस गर्न सक्नेछन् ? परियोजना प्रस्ताव पेस गर्नका लागि आवश्यक योग्यता के हो) ?
खुला/स्वतन्त्र समाज विकासका लागि मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित सवालहरूमा काम गर्न इच्छुक सबै नेपालीले परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । यसमा गैरसरकारी संस्थाहरू, विश्वविद्यालयहरू, सामुदायिक संस्थाहरू, प्राज्ञिक प्रतिष्ठानहरू, नागरिक सङ्घसङ्गठनहरू लगायतका संस्था तथा व्यक्तिहरू सरिक हुन सक्नेछन् । तर, राजनैतिक दलहरूले परियोजना प्रस्ताव पेस गर्न पाउनेछैनन् र राजनैतिक दलका क्रियाकलापहरूलाई प्रत्यक्ष रूपमा सघाउ पुग्ने खालका परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछैन ।
· के परियोजना प्रस्ताव तयार गर्दा कुनै विशेष ढाँचा अपनाउनर्ुपर्ने व्यवस्था गरिएको छ ? यदि व्यवस्था गरिएको भए परियोजना प्रस्ताव तयार गर्ने ढाँचाको निर्देशिका कहाँ पाउन सकिन्छ ? परियोजना प्रस्ताव कसरी लेख्ने ?
आवेदकले आफूले सञ्चालन गर्न खोजेको परियोजनालाई अनुदान प्रदान गर्ने संस्थालाई स्पष्टसँग बुझाउनका लागि परियोजना प्रस्तावमा केही कुराहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । परियोजना प्रस्ताव तयार गर्दा उल्लेख गर्नुपर्ने बुँदाहरू एएसडीको वेबसाइट www.soscbaha.org/asd वा एएसडी सचिवालय सोशल साइन्स वहाःबाट प्राप्त गर्न सकिनेछ । यसका अलावा परियोजना प्रस्ताव तयार गर्न कुनै पनि विशेष प्रकारको ढाँचालाई सिफारिस गरिएको छैन । परियोजना प्रस्ताव तयार गर्दा सम्बन्धित संस्था/व्यक्तिले एएसडीले उपलब्ध गराएको उक्त बुँदाहरूलाई अनुसरण गर्दै आफ्नै ढाँचामा परियोजना प्रस्ताव तयार गर्न सक्नेछन् ।
· के एउटा संस्था वा व्यक्तिले एकपटकमा एकभन्दा बढी परियोजना प्रस्ताव पेस गर्न सक्दछ ? एकभन्दा बढी कार्यक्रमका लागि परियोजना प्रस्ताव पेस गर्न सकिन्छ ?
एउटा संस्था/व्यक्तिले एक अनुदान चक्रको समयभित्र एउटा मात्र परियोजना प्रस्ताव पेस गर्न पाउनेछन् । यदि कुनै संस्था/व्यक्तिले एउटै अनुदान चक्रमा एकभन्दा बढी तर आपसमा सम्बन्धित विषयमा काम गर्न इच्छुक भएमा उक्त संस्था/व्यक्तिले आफूले सञ्चालन गर्न चाहेका भिन्न-भिन्न विषयका परियोजनाहरू एउटै परियोजना प्रस्तावमा समेटनुपर्नेछ । एउटै परियोजना प्रस्तावमा आपसमा सम्बन्धित एकभन्दा बढी विषयका लागि कार्यक्रम प्रस्ताव गर्न सकिन्छ । यस्तो अवस्थामा छुट्टाछुट्टै कार्यक्रमका लागि आवश्यक पर्ने बजेट पनि छुट्टयाएर उल्लेख गर्नुपर्नेछ ।
· कुन-कुन भाषामा परियोजना प्रस्ताव पेस गर्न सकिनेछ ?
अङ्ग्रेजी भाषा र नेपालमा प्रयोग गरिने अन्य जुनसुकै भाषामा पनि परियोजना प्रस्ताव पेस गर्न
सकिनेछ । प्रारम्भिक चरणमा छनोट हुन सफल अङ्ग्रेजी बाहेक अन्य विषयमा लेखिएका परियोजना प्रस्तावहरूलाई एएसडीले अङ्ग्रेजीमा रूपान्तरण गरी ओएसआईमा पठाउनेछ ।
· के एएसडीसँग सहकार्य गरेर ओएसआईमा परियोजना प्रस्ताव पेस गर्न सकिंदैन?
नेपालका बेग्लाबेग्लै स्थानहरूमा विभिन्न क्षेत्रहरूमा कार्यरत संस्था र व्यक्तिहरूबीच संवाद प्रक्रियाबाट सहकार्यको संस्कृति विस्तार गर्ने उद्देश्यअनुरूप एउटा अभियानका रूपमा 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) सुरु भएको हो । एएसडीले नेपालमा खुला समाज विकासका लागि काम गर्न इच्छुक संस्था/व्यक्तिहरू र अन्तर्राष्ट्रिय स्तरमा रहेका सहयोगी संस्थाहरू (जस्तै, ओएसआई) सँग सहकार्य गर्दै स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूबीचमा सन्जाल निर्माण गर्न प्रयत्नशील रहनेछ । 'एएसडी' खुला/स्वतन्त्र क्षेत्रहरू जस्तै; मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षामा काम गरिरहेका नेपाली सरोकारवालाहरूसँग सहकार्य गर्दै बौद्धिक संवादका लागि प्रयत्नरत रहनेछ । यसबाहेक एएसडीले उक्त क्षेत्रहरूमा सक्रिय रहेर लोकतन्त्र तथा खुला/स्वतन्त्र समाजको प्रवर्द्धनमा लागिपरेका संस्था तथा व्यक्तिहरूका बीचबाट नयाँ र सिर्जनशील विषयहरू पहिचान गर्दै आगामी दिनमा काम गर्न सकिने विषयहरूको प्राथमिकीकरण गर्नेछ । एएसडीले नेपालमा कार्यरत कुनै एउटा संस्थासँग मात्र सहकार्य गरेर छुट्टै परियोजना सञ्चालन गर्नेछैन ।
· के एकभन्दा बढी संस्थाहरूबीचमा सहकार्य गरेर परियोजना प्रस्ताव पेस गर्न सकिन्छ ?
एकभन्दा बढी संस्थाहरूबीचमा सहकार्य गरेर पनि परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । यसरी सहकार्य गर्दा कुन संस्थाले के भूमिका निर्वाह गर्ने भनेर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । यसका साथै परियोजना सञ्चालनको प्रक्रिया कसरी व्यवस्थित गरिनेछ भनेर पनि परियोजना प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।
· यो परियोजना प्रस्ताव कुन-कुन जिल्ला वा क्षेत्रलाई केन्द्रित गरेर आह्वान गरिएको हो ? के नेपालका जुनसुकै भूभागमा काम गर्ने गरी परियोजना प्रस्ताव पेस गर्न सकिन्छ ? कि कुनै विशेष भौगोलिक क्षेत्र तोकिएको छ ।
नेपालका हरेक क्षेत्र तथा जिल्लाबाट परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । परियोजना प्रस्ताव आहृवान गर्दा कुनै विशेष क्षेत्रलाई मात्र केन्द्रित गरिएको छैन । नेपालका फरक-फरक अवस्थामा रहेका समाजमा शिक्षा, मानवअधिकार र सञ्चारका क्षेत्रमा विविध समस्या तथा सम्भावना रहेका हुन सक्दछन् । उक्त क्षेत्रहरूमा रहेका समस्याहरूमा केन्द्रित भएर परियोजना प्रस्ताव तयार गर्न सकिनेछ । एएसडीले नेपालका सम्पूर्ण क्षेत्र र समुदायका लागि काम गर्न सक्ने गरी परियोजना प्रस्ताव पेस गर्न खुला गरेको छ ।
· के एकभन्दा बढी जिल्लामा काम गर्नका लागि परियोजना प्रस्ताव पेस गर्न सकिन्छ ?
परियोजनाको प्रकृतिअनुसार आवेदकले आफूले चाहेको स्थानमा परियोजना सञ्चालन गर्नका लागि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । कति जिल्लामा काम गर्ने भन्ने कुरा कुन विषयमा कसलाई लक्षित गरेर परियोजनाले कार्यक्रम सञ्चालन गर्न लागेको हो भन्ने कुरामा भर पर्दछ । यसैगरी आवेदक संस्थाको क्षमता ऊसँग रहेको जनशक्ति, उसका अनुभवहरूले पनि कति भौगोलिक क्षेत्र समेटने भन्ने कुरासँग सम्बन्धित रहन्छ । यी सबै कुराको आकलन आवेदक आफैले गर्नुपर्नेछ ।
· परियोजनाका लागि बजेटको सीमा छ कि छैन ? यदि भएमा कति हो ? हरेक परियोजनाका लागि कति बजेट छुट्टयाइएको छ ?
कुनै पनि परियोजनाका लागि निश्चित बजेट छुट्टयाइएको छैन । बजेटको सीमा पनि तोकिएको छैन । कुनै सस्था वा व्यक्तिले शिक्षा, मानवअधिकार र सञ्चार क्षेत्रका कुनै पनि सवालमा प्रस्तुत गर्ने परियोजनाका लागि आफैले निर्धारण गरेको कार्यक्रमका लागि बजेट माग गर्न सक्नेछन् । यसरी बजेट निर्धारण गर्दा परियोजनाको प्रकृति, परियोजना पेस गर्ने संस्था/व्यक्तिको योग्यता, परियोजनाले समेट्ने क्षेत्रलाई प्रमुख अधार बनाएर बजेट निर्धारण गर्न अनुरोध गरिन्छ । नेपालका हरेक स्थानबाट परियोजना प्रस्ताव आह्वान गरिएकोले, एएसडी यो वर्षा लागि साना र मझौला खालका परियोजना सञ्चालनका लागि प्रस्ताव पेस गर्न अनुरोध गर्दछ ।
· कति समयका लागि परियोजना प्रस्ताव पेस गर्न सकिनेछ ?
सुरुमा एक वर्षअवधिका लागि परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । बहुवर्ष परियोजनाका लागि पनि आवेदकले परियोजना प्रस्तावमा कार्यक्रम उल्लेख गर्न सक्नेछन् । यदि ओएसआईबाट आवेदकको परियोजना प्रस्ताव स्वीकृत भएमा उक्त संस्थाबाट नै आवेदक संस्थालाई सीधै अनुदान उपलब्ध हुनेछ । सर्वप्रथम ओएसआईसँग एक वर्षा लागि सम्झौता हुनेछ । अन्य वर्षरूका लागि कार्यक्रम सञ्चालन गर्नका लागि दुइ पक्षका बीचमा पुनः सम्झौता हुनुपर्नेछ ।
· एक वर्षा वा एउटा अवधिमा कतिओटा परियोजना प्रस्तावलाई अनुदान उपलब्ध गराइनेछ ?
एक अवधिमा एउटा संस्था/व्यक्तिलाई एउटा परियोजना प्रस्तावलाई अनुदान उपलब्ध हुनेछ । एउटै संस्थाले एकपटकमा आपसमा सम्बन्धित रहेका एकभन्दा बढी विषयहरूमा काम गर्न चाहेमा एउटै परियोजना प्रस्तावभित्र उक्त फरक-फरक विषयका कार्यक्रमहरू समेटेर परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।
· के नयाँ संस्थाहरूले पनि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् ?
नयाँ संस्थाहरूले पनि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । सिर्जनशील विषयमा काम गर्न खोज्ने नयाँ या पुराना सबै संस्थाहरूले परियोजना प्रस्ताव प्रस्तुत गर्न सक्नेछन् ।
· वैधानिक रूपमा दर्ता नभएका संस्थाहरूले परियोजना प्रस्ताव पेस गर्न पाउँछन् कि पाउँदैनन् ? यदि पाउने भए के प्रक्रिया अपनाउनुपर्दछ ?
वैधानिक रूपमा दर्ता नभएका संस्थाहरूले पनि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । तर यस्ता संस्थाहरूले भविष्यमा अनुदान पाउन सफल भएमा परियोजनाको आर्थिक कारोबारलाई कसरी व्यवस्थित गर्ने, लेखा परीक्षण, बैंक खाता सञ्चालन, संस्थाको कार्यहरूको अनुगमन, मूल्याङ्कन कसरी सञ्चालन गर्ने भनेर स्पष्ट रूपमा परियोजना प्रस्तावमा उल्लेख गर्नु जरुरी छ ।
· व्यक्तिगत रूपमा परियोजना प्रस्ताव पेस गर्नका लागि के गर्नुपर्दछ ?
व्यक्तिगत रूपमा पनि सिर्जनशील परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । तर व्यक्तिगत तवरमा परियोजना प्रस्ताव प्रस्तुत गर्दा भविष्यमा परियोजना आफूले पाउन सफल भएमा परियोजनाको आर्थिक कारोबारलाई कसरी व्यवस्थित गर्ने, लेखा परीक्षण, बैंक खाता सञ्चालन, संस्थाको कार्यहरूको अनुगमन, मुल्याङ्कन कसरी सञ्चालन गरिनेछ भनेर स्पष्ट रूपमा परियोजना प्रस्तावमा उल्लेख गर्नु जरुरी छ । यसका साथै कुनै पनि व्यक्तिले उक्त विषयमा परियोजना सञ्चालन गर्न सक्ने आफ्नो योग्यता पनि परियोजना प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।
· शिक्षा, मानवअधिकार र सञ्चार क्षेत्रका कुन-कुन विषय/सवालहरूमा परियोजना प्रस्ताव पेस गर्न सकिनेछ ? एएसडी र ओएसआईको विशेष रुचि भएका सवाल केही छन् ?
उक्त तीन क्षेत्रसँग सम्बन्धित कुनै पनि सवालमा परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । एएसडी र ओएसआईले कुनै एउटा सवाललाई प्राथामिकता दिएको छैन । नेपालमा फरक फरक समाजमा काम गरिरहेका संस्था तथा व्यक्तिहरूले उक्त तीन क्षेत्रसँग सम्बन्धित विषयमा देखिएका समस्याहरूलाई आधार मानेर सिर्जनशील परियोजनाहरू प्रस्तुत गर्न सक्नेछन् । एएसडी सकेसम्म उक्त तीन क्षेत्रसँग सम्बन्धित रहेर बढीभन्दा बढी विषयहरूलाई केन्द्रित गरेर परियोजना प्रस्तावहरू तयार होस् भन्ने चाहना राख्दछ । यस पटक कुनै विशेष विषय किटान गरेर परियोजना प्रस्ताव मागिएको छैन । आवेदकले बढीभन्दा बढी समूहबीचको सहकार्य, संवादलाई प्रवर्द्धन गर्न सक्ने गरी जुनसुकै विषयमा पनि परियोजना प्रस्ताव पेस गर्न सक्नेछन ।
· परियोजना प्रस्ताव पेस गर्नुपर्ने अन्तिम समय कहिले हो ? के पहिले नै पठाएका परियोजना प्रस्तावहरू पनि उक्त समयपछि मात्र ओएसआईमा पठाइने हो ?
परियोजना प्रस्ताव पेस गर्ने अन्तिम मिति २०६४ फागुन मसान्त हो । यसभन्दा अगाडि पनि परियोजना प्रस्ताव पेस गर्न सकिनेछ । एएसडीको सचिवालयमा प्राप्त भएका परियोजना प्रस्तावहरूलाई प्रारम्भिक मूल्याङ्कन गरेर विभिन्न चरणमा ओएसआईमा पठाइनेछ । एएसडीको सचिवालयमा दर्ता भएका परियोजना प्रस्तावहरू प्रारम्भिक मूल्याङ्कनपछि २०६४ फागुन मसान्तभन्दा अगाडि पनि ओएसआईमा पठाइनेछ ।