Home » Grants



नयाँ परियोजना सञ्चालनका लागि अनुदानहरू


१. परिचय

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा रहेको ओपन सोसाइटी इन्स्टिच्युट (ओएसआई) नेपालमा लोकतन्त्र र खुला तथा स्वतन्त्र समाजको मान्यतालाई प्रवर्द्धन गर्ने काममा सक्रिय संस्था तथा व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक रहेको छ ।

समाजमा रहेका कुनै समस्या तथा प्रश्नहरूमा निरन्तर रूपमा गरिने बहस, अन्तरक्रिया तथा संवादले खुला र स्वतन्त्र समाजको प्रवर्द्धन गर्न मद्दत पुग्दछ भन्ने मान्यता ओएसआईको रहेको छ । कुनै पनि विषय वा क्षेत्रमा भिन्नभिन्न अवस्थामा काम गरिरहेका सरोकारवालाहरूबीचको निरन्तर संवादका माध्यमबाट कतिपय मुद्दाहरूमा सामूहिक अवधारणा निर्माण गर्न सकिनेछ । फरकफरक दृष्टिकोण राखेर भिन्न क्षेत्रहरूमा काम गरिरहेकाहरूबीचमा पनि सहकार्यद्वारा स्वतन्त्र समाजको अवधारणालाई प्रवर्द्धन गर्न सकिनेछ।

नेपालमा खुला तथा स्वतन्त्र समाजको प्रवर्द्धनमा लागेका तर फरक स्थान तथा भिन्नभिन्न क्षेत्रहरूमा कार्यरत समूह/व्यक्तिहरूबीचमा संवाद प्रक्रियाद्वारा सहकार्यको संस्कृति विस्तार गर्ने उद्देश्य अनुरूप एउटा अभियानका रूपमा 'सामाजिक संवादका लागि सहकार्य' नामक संस्था स्थापना गरिएको छ । यही अभियान/कार्यक्रममार्फ मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालाहरूबीचमा संवाद प्रक्रियालाई अगाडि बढाउने कार्ययोजना तयार भएको छ । यस्ता संवाद प्रक्रियालाई प्रवर्द्धन गर्न ओएसआईले सहयोग गरेको छ ।

यसबाहेक आगामी दिनमा मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित गतिविधिमा सक्रिय रहेर लोकतन्त्र तथा खुला/स्वतन्त्र समाजको प्रवर्द्धनमा लागेका संस्था तथा व्यक्तिहरूलाई ओएसआई सहयोग गर्न इच्छुक रहेको छ । नेपालमा उक्त क्षेत्रसँग सम्बन्धित सामूहिक चुनौतीहरूको पहिचान गर्न र समाधान गर्नका लागि तयार गरिएका नयाँ र सिर्जनशील परियोजनाहरूका लागि ओएसआईले आर्थिक सहयोग प्रदान गर्नेछ ।

नेपालमा मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित सवालहरूमा काम गर्न इच्छुक संस्था/व्यक्तिले 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) मार्फत आफ्ना परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) ले परियोजना प्रस्तावहरूको प्रारम्भिक मूल्याङ्कन गरेर ओपन सोसाइटी इन्स्टच्युट (ओएसआई) मा पठाउनेछ । परियोजना प्रस्तावहरूको अन्तिम छनौट ओएसआईद्वारा हुनेछ । छनौटमा परेका परियोजनाहरू सञ्चालन गर्न ओएसआईले आर्थिक सहयोग गर्नेछ ।

परियोजना प्रस्ताव पेस गर्ने विधि/प्रक्रिया

नेपालमा मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित सवालहरूमा काम गर्न इच्छुक संस्था/व्यक्तिले आफ्ना परियोजना प्रस्ताव 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) मा पेस गर्नुपर्नेछ । परियोजना प्रस्ताव तयार गर्न र आवेदन पेस गर्नका लागि आवश्यक प्रक्रियाबारे जानकारीका लागि 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) को वेब पेज www.soscbaha.org/asd मा हेर्नुहोला । अथवा एएसडीको सचिवालय -सोशल साइन्स वहाः को फोन ४४७२८०७ मा सम्पर्क गर्नुहोला ।

परियोजना प्रस्ताव को आवेदन, एएसडी सचिवालयको पत्राचार ठेगाना, एएसडी सचिवालय
सोशल साइन्स वहाः पोस्ट बक्स नं. २५३३४, काठमाडौं, नेपाल वा इमेल asd@soscbaha.org मार्फत एएसडीमा पठाउन सकिनेछ ।

परियोजना प्रस्तावमा समावेश गर्नु पर्ने पक्षहरू

प्रस्ताव पेस गर्न चाहने संस्था वा सहकार्य गर्न चाहेको भए साझेदारहरूको जानकारीमूलक विवरण स्पष्ट र सङ्क्षिप्त रूपमा उल्लेख गरिएको हुनुपर्दछ ।

प्रस्तावित परियोजनाको क्रियाकलाप र कार्ययोजना स्पष्ट रूपमा उल्लेख गरेको हुनु पर्नेछ ।

बजेट शीर्षकगत रूपमा विभाजन गरिएको हुनुपर्नेछ ।

(परियोजना प्रस्तावमा उल्लेख गर्नु पर्ने अन्य बुँदाहरू आवेदन फारममा समावेश गरिएका छन्)

परियोजना प्रस्तावको आवेदनको समयावधि

परियोजना प्रस्ताव २०६४ फागुन मसान्तभित्र एएसडी सचिवालयमा आइपुग्नु पर्नेछ ।

एउटा संस्था/व्यक्तिले एक अनुदान चक्रको समयभित्र एउटा मात्र परियोजना प्रस्ताव पेस गर्न पाउनेछ । एकभन्दा बढी विषयका लागि परियोजना प्रस्ताव गर्न चाहने संस्था/व्यक्तिले एउटै प्रस्ताव मार्फत सबै शीर्षकमा आर्थिक स्रोतका लागि आवेदन गर्न सक्नेछ ।

सहभागिताका लागि योग्यता

खुला/स्वतन्त्र समाज विकासका लागि मानव अधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रसँग सम्बन्धित सवालहरूमा काम गर्न इच्छुक सबै नेपालीले परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । यसमा गैरसरकारी संस्थाहरू, विश्वविद्यालयहरू, सामुदायिक संस्थाहरू, प्राज्ञिक प्रतिष्ठानहरू, नागरिक सङ्घसङ्गठनहरू लगायतका संस्था तथा व्यक्तिहरू सरिक हुन सक्नेछन् ।

तर, राजनैतिक दलहरूले परियोजना प्रस्ताव पेस गर्न पाउनेछैनन् र राजनैतिक दलका क्रियाकलापहरूलाई प्रत्यक्ष रूपमा सघाउ पुग्ने खालका परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछैन ।

परियोजना छनौटको प्रक्रिया

इच्छुक सङ्घसंस्था तथा व्यक्तिहरूले एएसडीमा परियोजना प्रस्ताव पेस गर्नु पर्नेछ । 'सामाजिक संवादका लागि सहकार्य' (एएसडी) ले परियोजना प्रस्तावहरूको प्रारम्भिक मूल्याङ्कन गर्नेछ । प्रारम्भिक छनौटमा परेका प्रस्तावहरू ओपन सोसाइटी इन्स्टिच्युट (ओएसआई) मा पठाइनेछ । परियोजना प्रस्तावहरूको अन्तिम छनौट ओएसआईले गर्नेछ । अन्तिम छनौटमा परेका परियोजनाहरू सञ्चालन गर्न ओएसआईले अर्थिक सहयोग उपलब्ध गराउनेछ । छनौट भइसकेका परियोजना प्रस्तावका आवदेकहरूसँग ओएसआईले सीधै सर्म्पर्क गर्नेछ । अनुदान पाउन सफल संस्था/व्यक्तिहरूले परियोजना कार्यान्वयनका लागि ओएसआईसँग माग गरेको स्रोत ओएसआई र सम्बन्धित संस्था/व्यक्तिहरूको सम्झौताबमोजिम सीधै पाउनेछन् ।

छनौट भएका परियोजना प्रस्तावका आवेदकहरू र ओएसआईको बीचमा सम्झौता हुनेछ र एकअर्काबीच प्रत्यक्ष रूपमा सूचनाको आदानप्रदान हुनेछ । परियोजनाको अनुगमन र मूल्याङ्कन पनि ओएसआई बाट नै हुनेछ ।

अनुदान छनौटको निर्णय (अनुदान पाउन सफल परियोजनाको घोषणा)


अनुदानका लागि छानिएका परियोजनाहरूको अन्तिम निर्णय ओएसआईले गर्नेछ । सफल परियोजनाका आवेदकहरूसित ओएसआईले सीधै सम्पर्क गर्नेछ ।

 

SUBSCRIBE TO MAIL LIST
Your Name :
Name is required.

Email Address :
Email is required.Invalid format.

 



 

 

 

 

 

 

 

DOWNLOAD NEPALI FONTS
 
Download and install the fonts for better viewing of Nepali text.

fonts
DOWNLOAD FONTS


 

 

Copyright ©2007, Alliance for Social Dialog